दमक/ झापाको कमल ३ केरखामा सञ्चालित लालिमा अंग्रेजी माविमा अध्ययन पूरा गरेर माथिल्लो तहको पढाईका लागि जाने बिद्यार्थीहरुको शुभकामना आदनप्रदान तथा बिदाई कार्यक्रमपछि बिद्यार्थीहरुसँग बिछोडको क्षण स्मरण गर्दै बिद्यालयका संस्थापक प्रिन्सिपल गौरीमान फागो भावुक बनेका छन् । उनले आफ्नो फेसबुक वालमा बिद्यार्थीहरुसँगको आत्मियता र अनुभवहरुको स्मरणसहित आशिर्वाद दिँदै कविता मार्फत भावनामा यसरी पोखिएका छन्– लिएर आँसु आंखामा…………
लिएर आँसु आंखामा
तिमी प्रवेश गरेथ्यौ
आफ्नो बाबा वा आमाको साथ
यो विद्यालयको प्रांगणमा
लगभग खाली कागज जस्तै
वा एउटा खाली क्यानभास जस्तै
अबोध वालक वा वालिका
आमा बाबाको काख छोडेर
एउटा सानो परीवारको
परीवेशबाट तिमी
विविधतायुक्त अलिक ठूलो
परीवारमा बसाई सरेथ्यौ
लगभग वार्ह तेर्ह वर्ष अघि
तिमिले सहअस्तित्व सिक्यौ
सहभागिता सिक्यौ
प्रतिस्पर्धा सिक्यौ
कहिले हार सिक्यौ
कहिले जित सिक्यौ
म दावी गर्दिन
तिमिले सबै थोक सिक्यौ
किनभने सिकाइ
जीवन रहिन्जेल
निरन्तर चल्ने प्रक्रिया हो
विधिवत रुपमा
आज तिमी यो सानो
तर विविधतायुक्त विद्यालय
छोडेर संधै संधैको लागि जांदेछौ
तिमिलाइ संधैभरी बोर लाग्ने
तिम्रो युनिफर्ममा
मैले देखें
तिम्रा साथीहरुले अटोग्राफ दिंदैछ्न
अब यो युनिफर्म
तिम्रो लागि बोझ हुने छैन
तिमी सम्पूर्ण रुपमा मुक्त छौ
तर फेरि एउटा प्रश्न
तिम्रो आंखामा फेरि किन आँसु छ?
धेरै धेरै मायां
तथा आशीर्वाद ।