दमक/ दमक ५ स्थित मेची सेकेण्ड्री बोर्डिङ स्कूलले अभिभावक दिवस विविध साँस्कृतिक कार्यक्रम र प्रतिभाहरुको खोजी गर्दै सम्पन्न गरेको छ ।

आईतबार विद्यालय परिसरमा विद्यार्थीहरुका बीच सञ्चालन भएको अन्तर सदनात्मक विभिन्न खेलकुद , वक्तृत्व तथा ज्ञानवद्र्धक, रोचक तथा मनोरञ्जनपूर्ण विधाका उत्कृष्ट प्रतियोगिहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । कलाकार विद्यार्थीहरुले गित संगितका माध्यबाट राष्ट्रप्रेम दर्शाएका थिए । त्यसैगरी अभिभावकहरुबीच पनि नृत्य तथा गायन प्रतियोगिता सञ्चालन गरेर अभिभावकहरुलाई हौसला प्रदान गरिएको थियो ।

विद्यालयका व्यवस्थापन समिति अध्यक्ष शेर बहादुर भट्टराईको प्रमुख आतिथ्य र विद्यालयका प्रिन्सीपल श्रवणकुमार पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थापक प्रिन्सिपल खेमलाल पोखरेल, संस्थापक विदुर खतिवडा लगायतको विशेष आतिथ्य रहेको थियो ।

सो अवसरमा अध्यक्ष भट्टराईले २०४६ सालमा स्थापना भएको सो विद्यालयको २९ बर्षे इतिहास गौरवपूर्ण रहेको चर्चा गर्दै सो विद्यालयका भुतपूर्व विद्यार्थीहरु देश विदेशका विभिन्न ठाउँहरुमा रहेर विशिष्ट पहिचान बनाउन सफल भएको दृष्टान्त प्रस्तुत गर्नु भयो । उहाँले विद्यालयले सरकारले लागू गरेको तलब स्केल पूर्ण रुपमा लागू गरेको भन्दै विद्यालयको शैक्षिक विकासमा अभिभावक, शिक्षक, विद्यार्थी सबैको समान भुमिका रहने चर्चा गर्नु भयो ।

विद्यालयका प्रिन्सिपल पोखरेलले स्थानीय अभिभावकहरुको अहम भुमिकाका कारण विद्यालय दिन प्रतिदिन प्रगतिको पथमा अघि बढेको भन्दै गुणस्तरीय शिक्षाका लागि विद्यालय प्रतिबद्ध रहेको बताउनु भयो । कार्यक्रमको सञ्चालन शिक्षकहरुले आलोपालो गर्नुभएको थियो भने सहभागीहरुलाई विद्यार्थीबाट स्वागत गरिएको थियो ।
