दमक/ झापाको लखनपुरस्थित लायन्स क्लब लखनपुरले शुक्रबार एकैदिन दुई वटा क्लबहरु स्पोन्सर गरेको छ । लायन्स क्लबमा आफ्नो मातृत्व प्रदान गरिएका क्लबहरुलाई स्पोन्सर क्लबका रुपमा परिभाषित गर्ने गरिन्छ ।


लायन्स क्लब लखनपुरले आफ्नो बार्षिक कार्यक्रम अनुसार शुक्रबार धनुषकोटीधाममा आयोजना गरेको फेलोसिप कार्यक्रममा सो क्लबद्धारा लायन्स क्लब दमक एक्टिभ र लायन्स क्लब दमक गरिमाको घोषणा गरिएको हो । एक्टिभको नेतृत्व दमककी व्यवसायी महिला विन्दा खनालले गर्नुभएको छ भने गरिमाको नेतृत्व नविन अग्रवालले गर्नुभएको छ ।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एवानका चिफ एरिया कोअर्डिनेटर बबरजंग थापा किरणको प्रमुख आतिथ्य र लायन्स क्लब लखनपुरका अध्यक्ष ज्ञानु पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा ति क्लबका संस्थापक अध्यक्षद्धय खनाल र अग्रवाललाई एरिया को अर्डिनेटर अजय अग्रवालले क्लबको ब्यानर हस्तान्तरण गर्नु भयो । कार्यक्रममा लायन्स क्लबका रिजन चियर पर्सन रामचन्द्र बराल, जोन चियर पर्सन धर्मानन्द भट्टराई , क्लबका तत्कालिन अध्यक्ष प्रमोद दाहाल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा लायन्स क्लब लखनपुरका उपाध्यक्ष समेत रहनु भएका दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का, कलश साकोसका अध्यक्ष महेश घिमिरे, पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष छवि बाँस्कोटा लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन हेमसिंह अधिकारीले गर्नुभएको थियो । फेलोसिपमा लायन तथा लायन परिवारका सदस्यहरुबीच परिचयात्मक संगै मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

Facebook Comments Box