काठमाडौं/ आजबाट अंग्रेजी सम्वतको नयाँ वर्ष सन् २०२० शुरु भएको छ । नेपालमा विक्रम सम्वत हरेक बर्ष वैशाख १ बाट प्रारम्भ भएझैं अन्तराष्ट्रिय जगतमा भने १ जनवरीदेखि नयाँ बर्ष प्रारम्भ हुने गर्छ । यस अवसरमा देश विदेशमा शुभकामना आदनप्रदान र नयाँ संकल्पहरु गर्ने गरिन्छ ।


इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।
नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ । इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् । सन् २०२० को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका समस्त दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस् भन्ने कामना गर्नुभएको छ । उहाँले नयाँ वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर लाखौं पर्यटकलाई नेपालमा स्वागत गरिने उल्लेख गर्नुभएको छ ।
पर्यटन नीति परिवर्तनको तयारी
पर्यटन मन्त्री योगेश भट्टराईले पर्यटनको क्षेत्रमा अझै प्रवर्द्धनको काम बाँकी भएकाले परिस्थिति अनुसार पर्यटन नीति परिवर्तनको तयारी समेत गरिरहेको जानकारी दिनु भएको छ । नेपाल भ्रमण वर्ष एक वर्षले मात्रै पूरा नहुने भन्दै एक दशक मनाउने तयारीसमेत गरिएको उहाँले जनाउनु भयो ।
पर्यटनको क्षेत्रमा अझैपनि पर्यटकको सुरक्षा, विमानस्थल विस्तारजस्ता विषयवस्तु बाँकी रहेकाले सरकारले त्यसका लागिसमेत तयारी गरिरहेको मन्त्री भट्टराईको भनाइ छ ।
बोर्डलाई आगामी दिनमा अझै सशक्त ढंगले अगाडि बढ्न पनि मन्त्री भट्टराईले निर्देशन दिनु भयो ।
राष्ट्रिय टोपी दिवस
अंग्रेजी सम्वतको नयाँ बर्ष प्रारम्भ हुने दिनलाई सामाजिक अभियान्ताहरुले भने राष्ट्रिय टोपी दिवसको अवसरमा मनाउने गर्छन । यसदिनलाई टोपी दिवसका रुपमा सरकारीस्तरबाट नमनाइएपनि विगत केहि बर्षयता नागरिकहरुले स्वतस्फूर्त रुपमा राष्ट्रिय टोपी दिवसका रुपमा मनाउने गरेका हुन् ।
सोहि अवसरमा कतिपय सामाजिक संघ संस्थाहरुले भव्य रुपमा राष्ट्रियता झल्काउँदै नेपाली टोपी लगाएर विभिन्न सामाजिक कामहरुको थालनी गरेका छन भने कतिपयले बर्षौदेखि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिएका छन् । सोहि अवसरमा दमकमा भर्खरै स्थापना भएको क्लब हिमालयन टाइगरले गणतन्त्र चोकमा टोपी दिवस विशेष कार्यक्रम गरेको छ ।
क्लबले सोहि अवसरमा नेपाल भ्रमण बर्षको स्वागत गर्दै झापाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुमा मोटरसाइकल र्यालीसहित परिक्रमा गर्ने कार्यक्रम रहेको क्लबका अध्यक्ष रेवतचन्द्र भण्डारीले जानकारी दिनु भयो । दमक उद्योग वाणिज्य संघ, जिवन चक्र समाज समाज नेपाल, पहिलो पाइला नेपाल लगायत संघ संस्थाहरुले पनि टोपी दिवस विशेष कार्यक्रम गरेका छन् ।

 

 

Facebook Comments Box