एजेन्सी/भारतमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सहित भारतमा कोरोना संक्रमितको संख्या १७४ पुगेको छ । बंगलादेशमा थप ३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
यो सहित बंगलादेशमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । इजरालयमा ९६ जना नयाँ संक्रमित फेला परेका छन् । मलेसियामा १ सय १० जना नयाँ संक्रमित थपिएका छन् । कुवेतमा ६ जना नयाँ बिरामी थपिएका छन् । थाइल्यान्डमा थप ६० जनामा संक्रमण फेला परेको छ । अल्जेरियामा ७ जनामा नयाँ संक्रमण फेला परेको छ । कोरोनाको कारण बिहीबार अल्जेरियामा एक जनाको मृत्यु भएको छ । डेनमार्कमा कोरोनाका ७५ जना नयाँ बिरामी फेला परेका छन् । कोरोनाका कारण बिहीबार २ जनाको मृत्यु भएको छ ।
यसैबीच भारतको बिहारसँग जोडिएको झापाको गौरीगञ्ज गाउँपालिकाले भारतबाट प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षणमा कडाई गरेको छ । नेपालमा कोरोना फैलन नदिन संघीय सरकारले कडाई गरेसँगै स्थानीय सरकारले पनि कडाई गरेको हो ।
बिहारसँग सिमाना जोडिएको चार स्थानमा भारतबाट प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण शुरु गरिएको हो । मुख्य प्रवेश स्थलहरुमा स्वास्थ्य परामर्श केन्द्र समेत स्थापना गरि प्रवेशहरुको अनिवार्य स्वास्थ्य परीक्षण शुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए ।