काठमाडौं/सरकारले शुक्रबार (भोली)देखि विदेशमा रहेका नेपालीको उद्धार थाल्ने भएको छ ।
कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को नेतृत्वमा विदेशमा रहेका नेपालीको उद्धार थालिएको हो । सिसिएमसीका अनुसार पहिलो चरणमा भोलि युएईबाट २३१ र म्यानमारबाट २६ जना नेपाली ल्याइने छ । सिसिएमसी नेपाली सेनाको नेतृत्वमा छ ।
सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार म्यानमार सरकारले जहाज चार्टर्ड गरी २६ नेपाली काठमाडौं ल्याउँदैछ । यस्तै, युएईबाट पनि त्यहीँको सरकारले जहाज चार्टर्ड गरी नेपाली ल्याउँदैछ । दुबईबाट फ्लाई दुबई र म्यानमारबाट सेनाको जहाज आउँदैछ । ‘पहिलो चरणमा म्यानमार र युएईबाट चार्टर्ड जहाज आउने भएका छन्,’ सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले हेल्थपोस्ट नेपालसँग भने ।
सिसिएमसीका अनुसार पहिलो चरणमा भोलि युएईबाट २३१ र म्यानमारबाट २६ जना नेपाली ल्याइने छ। सिसिएमसी नेपाली सेनाको नेतृत्वमा छ । सैनिक सूत्रका अनुसार दुबईबाट फ्लाई दुबई र म्यानमारबाट सेनाको जहाज आउँदैछ ।
दोस्रो चरणमा कहाँबाट कतिलाई ल्याइने भन्ने टुंगो लागिसकेको छैन । विदेशमा रहेका नेपाली काठमाडौं झारेपछि सिधै ‘होल्डिङ एरिया’ लगिने छ । यसका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा सात वटै प्रदेशका लागि नेपाली सेनाले ‘होल्डिङ एरिया’ तयार पारिसकेको छ । प्रत्येक होल्डिङ एरिया एक हजार जना क्षमताको निर्माण गरिसकिएको पाण्डेले बताए । उनका अनुसार ३, ४ र ५ नम्बर प्रदेशका लागि काठमाडौंको बसुन्धरास्थित यति पार्टी प्यालेस, कुन्डलिनी र सुकेधाराको स्काई जोन पार्टी प्यालेस तोकिएको छ । ती प्रदेशका मानिसहरू यी पार्टी प्यालेसमा राखिने छ ।
यस्तै, १ र २ नम्बर प्रदेशका लागि भक्तपुरको सूर्यविनायकस्थित इम्पेरियल र ठिमीको हेरिटेज पार्टी प्यालेस होल्डिङ एरिया तोकिएको छ ।
यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि ललितपुरको महालक्ष्मीस्थित डिलाइट पार्टी भेनू र ग्वार्को खरिबोटको मण्डला पार्टी भेनू तोकिएको छ। आवश्यकता अनुसार विदेशबाट ल्याइएका नागरिकलाई राख्न वैकल्पिक रूपमा ललितपुर धोबिघाटको सिद्धार्थ कलेजलाई ‘रिजर्व’ गरिएको सहायक रथी पाण्डेले बताए ।
भोलि आउने नेपाली अधिकांश प्रदेश १ र २ का छन ्। उनीहरूलाई सुरूमा होल्डिङ एरियामा राखेर स्वास्थ्य जाँच थालिन्छ। ‘आइसोलेसनमा पठाउनुपर्ने भए पठाउने व्यवस्था मिलाइएको छ,’ पाण्डेले भने, ‘सामान्य अवस्था रहेका नेपालीलाई सम्बन्धित प्रदेशमा पठाइने छ ।’
यसअघि बसेको मन्त्रिपरिषद बैठकले सात वटै प्रदेशका नागरिक व्यवस्थापनका लागि सात जना नै मन्त्री तोकेको छ । भोलि आउने नेपाली अधिकांश प्रदेश १ र २ का छन् । उनीहरूलाई सुरूमा होल्डिङ एरियामा राखेर स्वास्थ्य जाँच थालिन्छ । ‘आइसोलेसनमा पठाउनुपर्ने भए पठाउने व्यवस्था मिलाइएको छ,’ पाण्डेले भने, ‘सामान्य अवस्था रहेका नेपालीलाई सम्बन्धित प्रदेशमा पठाइने छ ।’
जस अनुसार प्रदेश १ को जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई दिइएको छ । प्रदेश २ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, ३ को जिम्मेवारी महिला तथा बालबालिका मन्त्री पार्वत गुरूङ, गण्डकी प्रदेशको जिम्मा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, ५ नम्बर ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन,कर्णाली प्रदेश वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशको जिम्मेवारी खानेपानी मन्त्री बिना मगरलाई दिइएको छ ।
यी मन्त्रीले सात वटै प्रदेश सरकारसँग सहकार्य गरी सामान्य अवस्थाका नागरिकलाई जिम्मा लगाउँछन् । तर, ती प्रदेशमा भने सेनाले नै गाडीमार्फत् फर्किएका नेपाली लैजान्छ । विदेशबाट फर्किने नागरिकको सूची बनाउने जिम्मा परराष्ट्र मन्त्रालयलाई दिइएको छ। परराष्ट्रले सम्बन्धित देशका दूतावाससँग समन्वय गरी सूची तयार पारेर सिसिएमसीलाई बुझाएपछि उद्धार गरिने नेपाली नागरिकको टुंगो लाग्छ ।
विशेषगरी खाडी राष्ट्रमा नेपाली कामदार उद्धारको प्रतिक्षामा छन् । मलेसिया, साउदी, युएई, कतारलगायत राष्ट्रमा करिब १५ लाख नेपाली कामदार छन् । तीमध्ये कम्तीमा चार लाख उद्धार गर्नुपर्ने निष्कर्षमा सरकार पुगेको छ ।