काठमाडौं/  कोरोनाको संक्रमण शुरु भएयता कुवेतबाट पहिलो पटक ठुलो संखयामा नेपाली महिला आज स्वदेश फर्किएका छन् ।

आममाफी पाएका तीन सय जना नेपाली महिला आज स्वदेश आइपुगेका हुन् । कुवेतले आफ्नै जहाज जजिरा एअरलाइन्समार्फत त्यहाँ आममाफीमा सहभागी नेपालीलाई नेपाल ल्याइदिएको हो ।
पहिलो उडानमार्फत १५० र दोस्रो उडानबाट १५० जना गरी जम्मा तीन सय आममाफीमा सहभागी महिलालाई स्वदेश पठाइएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभयो । कुवेतमा भिसा नवीकरण नगर्दा अवैधानिक भएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जारिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको हो ।

कुवेतले गएको अप्रिल महिनाभरी नै यी दुई तरिकाले आममाफीमा सहभागी गराएको थियो । नेपालीलाई भने अप्रिल २६ देखि ३० सम्मको चार दिनको समय दिएको थियो । यो चार दिनमा आममाफीमा सहभागी झण्डै तीन हजार जनालाई कुवेतले आफ्नै जहाजमार्फत नेपाल ल्याइदिने छ ।
कुवेतले आममाफीमा सहभागी भएकालाई आफ्नै खर्चमा सेल्टरमा राखेको थियो । खाद्यान्न सहित आवश्यक कुराको व्यवस्था पनि कुवेत सरकारले नै गरेको छ । आममाफीमा सहभागी र केही घरफिर्ती केन्द्रमा रहेका २९९१ जनाको सूची दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।

Facebook Comments Box