
मेरो प्राण भन्दा प्यारी मामु,
हजुरको हातले लगाई दिएको तोरीको तेलले मजबुत बनेको मेरो शिरले हजुरका चरण स्पर्श गर्न नपाए पनी उहि इज्जत र सम्मानका साथ ढोग छ ।
विश्वव्यापी रूपमा फैलीएको यस महामारीमा हजुरहरू सम्पुर्ण सुरक्षित र स्वस्थ रहनुहोस भनी श्री पशुपति नाथ संग प्राथना गर्दछु । नेपालमा दिन दिनै कोरोनाका संक्रमित बढिरहेको अवस्था छ आफ्नो र परिवारको ख्याल गर्नुहोला ।
युएईमा त लगभग कोरोनाको भय हटिसकेको छ । कोरोना विरुद्ध लड्ने देशहरू मध्य युएई विश्वमा तिन नम्बर भएको छ । यहाँ धेरै व्यवस्थित तरिका अपनाएर कोरोना विरुद्ध सबै एक जुट भएर लडिरहेका छन ।
यहाँका जनताले पनि उत्तिकै साथ सहयोग गरिरहेका छन । महिनौंदेखी बन्द भएका सपिंग मलहरू, होटेलहरू र पार्कहरू सुचारु हुन थालिसकेका छन । यहाँको अवस्था सामान्य बन्दै छ । चिन्ता नलिनु होला ।
कोरोनाका कारण विभिन्न शक्तिशाली देशहरू आर्थिक र सामाजिक रूपमा थला परिसकेका छन । यसको असर यहाँ रहेका नेपालीहरूमा पनि परेको छ । धेरैले रोजगार गुमाएका छन । कोही बेतलवी विदामा बसेका छन । कोही संक्रमित भएर बसेका छन, केहिको मृत्यु सम्म भएको छ । चार चोटी गरेर ३१ दिन क्वारेन्टिनमा बसे पनि यो भाईरसले छुन सकेन हजुरको आशिर्वाद र प्रार्थनाको अगाडी यो निर्दयी भाइरसले हार्यो । दुःखको कुरा त के भने नि मामु, कोरोनाको कारणले मृत्यु भएकाहरूको अन्त्येष्टि यही गर्नुपर्ने । मृतकको लास सम्म परिवारले देख्न नपाउने कस्तो रोग होला है यो आफनै परिवारका सदस्य संक्रमित हुदा सम्म छुन नपाईने, साथ वस्न नपाईने। खैर, सबै ठीक होला ।
हजुरले राजकुमार झै हुर्काएको छोरा आफ्नो भाग्य खोजदै भविष्य बनाउन प्रदेशिएको यतिका वर्ष बितीसक्दा पनि न त भाग्यले नै साथ दियो न त आफ्नो भविष्य नै बनाउन सके। आफ्नो भविष्य बनाउन नसक्दा नसक्दै अरुको दुःखको सारथी बन्छु भनी समाजसेवामा होमीएको म, विश्व व्यापीरूपमा फैलिएको कोरोना भाईरसका कारण यो खाडिमा अलपत्र परेका नेपाली दाजुभाइ र दिदीबहिनीहरूलाई केहि हद सम्म सहयोग गर्न पाउदा र साथ दिन पाउदा खुसी छु। केहि महिना देखी रोजगार गुमाएर बसेका, बेतलवी बिदामा बसेका, भिजीटमा आएर अलपत्र परेका दाजुभाइ दिदीबहिनीहरूको साहारा बन्न पाउदा, उहाँहरूको दुखमा, “हामी छौ नि पिर नगर्नुस” भन्दा उहाँहरूको अनुहारमा देखिने खुसी, हामी प्रति उहाँहरूको भरोसा देख्दा करोडौको आलीशान महल भित्र चिसो एसीको हावा खाँदै आरामदायी किंग साइज बेडमा ढल्केको अनुभुती गराउँछ ।
हजुरले भन्नु हुन्थियो नी “गाँस छोडनु तर साथ नछोडनु” हो त्यही कुरालाई आत्मासाथ गरी हमेशा अगाडि बडे ।पुर्व मेचि देखी पश्चिम महाकाली सम्मका साथीहरू बनाए । आफ्नो तर्फबाट सक्दो मित्रता नि निभाएकै हो तर पनी यो उराठ लाग्दो मरुभुमीमा बसेर हो कि, प्रायको मुखमा राम राम बगलीमा छुरा गर्ने आद्धतले थकित भई सके। मैले काधमा चढाएर माथी पुर्याएका मान्छेहरूले माथि पुगिसके पछि मलाई नै लात्ति हान्दा पनि सहेकै हँु । जिन्दगीमा मलाई कती पिडा छ, कती समस्याहरूसंग झुधि रहेको छु भन्ने कुरा हजुर बाहेक कस्ले बुझेको होला र ? हजुरले भन्नु हुन्थियो नि, “मनमा जति पिडा भए पनि सबैको सामु हास्न नछोड़नु, मान्छेहरूले तिम्रो बाहिरी आवरण हेरेर मुल्याङकन गर्छन”, त्यही कुरालाई आफ्नो जिÞन्दगीमा लागु गरी सबैलाई कन्फ्युज गरी अघि बडीरहेको छ । हो मलाई पनी सुख छैन,खुसी छैन तर यस मरुभुमीमा भेटिईने दाजुभाई दिदीबहिनीहरूको पिडा र दुखको अगाडि आफुलाई फेरि हजुरले राखे झै राजकुमार हुँ झै लाग्छ । कोही ७र८ महिना देखी काम नगरी बिना तलब बसेका छन, कोही ७÷८ महिना देखी कामको खोजीमा कहिले कस्को कोठा त कहिले कस्को कोठा गर्दै भौतारिरहेका छन, कोही दलालले पैसा खाएर पास्पोर्ट सम्म नभएका छन ।कोही चेलीहरू महिनौ देखी एकसरो कपडा लगाएर बन्द कोठामा थुनिएर बसेका छन । कोही कोठाको भाडा दिन नसकेका कारण कोठा बाट निकालिएका छन । कोही बिरामी पर्दा नि हस्पिटल सम्म जान नसकेर बसेका छन । यि सबै पिडितहरूको अगाडि म धेरै सुखमा छु भन्ने अनुभुती हुन्छ । सुखमा छु भनेर खुसी भएको चाही बिल्कुल होईन है मामु, म उहाँहरूको दुख शेयर गरिरहेको छु । उहाँहरूको दुखमा केहि हद सम्म मलम पट्टी गर्ने कोसिस गरिरहेको छु,केहि हद सम्म खुसी छर्ने प्रयास गरिरहेको छु ।
आज सम्म एनआरएनए,युएईको मातहतमा रहेर क्षेत्रीय अध्यक्षको हैसियतले यस महामारीमा कोही पनि भोकै बस्न नपरोस भन्ने एनआरएनए,युएईको उद्धेश्यलाई शिरोपर गर्दै बिना काम, बिना तलव बसेका नेपाली दाजुभाई दिदीबहिनीहरूको घरदैलो सम्म खाद्य सामग्री पुर्याएर सहयोग गरिरहेका छौं ।
बिरामीहरूलाई हस्पिटल पुर्याउने, विभिन्न कुराहरूमा परामर्श पनि गरिरहेका छौ। यहाँ(अलऐन)बस्ने नेपाली दाजुभाई दिदीबहिनीहरूले पनि उत्तिकै साथ सहयोग गर्नु भएको छ । यो विषम परिस्थितिमा कसैले खाद्यन्न खरिद गर्न आर्थिक सहयोग गर्नु भएको छ भने कसैले वितरण गर्न । मेडीकल फिल्डमा काम गर्ने नेपालीहरूले स्वास्थ्य सम्बन्धी सल्लाह र परामर्श दिएर सहयोग गर्नु भएको छ । अग्रज र बुद्धिजिवी वर्गहरूले सहि मार्ग देखाएर हौसला बढाई नडगमँगाइ अगाडी बड्न प्रेरित गरिरहनु भएको छ । पत्रकार मित्रहरू(केहीले) आफ्नो कलमलाई सम्मान जनक ढंगले प्रयोग गरी राजदुतावास र सरकार समक्ष पिडितको आवाज पुर्याउन मद्दत गर्नु भएको छ । एउटा नेपालीलाई पिडा हुँदा अर्कोलाई दुख्छ भन्ने कुरा अहिले आएर प्रमाणित भएको छ । जुन साथ सहयोग देखेर हृदय नै प्रफुल्लित हुन्छ । हुन त अलऐनका नेपालीहरूले हमेशा हाम्रो साथ दिनुभएको छ । यसरि नै सबै जना एक जुट हुनु भने जस्तो परिस्थितिमा पनि सहज ढंगले लड़न सकिने रहेछ भन्ने पनि प्रमाणित भयो ।
यहाँको(युएई) सरकारले नि धेरै सहयोग गरेको छ । बाह्य देशका नागरिकहरूलाई पनि आफनै देशको नागरिक सरह बिना भेदभाव सहयोग गरिरहेको छ । आफ्नो कानुन नै परिमार्जित गरेको छ । पहिले युएईको अध्यागमनबाट बहिरिएको छ महिना भित्र युएई प्रवेश गरिसक्नु पथ्र्यो हाल त्यस्तो व्यवस्था छैन । यो विषम परिस्थितीलाई मध्य नजर गर्दै कानुन नै परिमार्जित गर्यो । ०१ मार्च २०२० भन्दा पहिले भिषा सकिएकाहरूलाई ऐम्नेस्टी जारी गरि बिना जरिवाना १८ अगस्ट २०२० भन्दा पहिले युएई छोडि आफ्नो देश फर्कने अवसर दिएको छ । ०१ मार्च २०२० भन्दा पछाडि भिषा सकिएकाहरूलाई ३१ डिसेम्बर २०२० सम्म स्वतः नविकरण हुने प्रावधान लागु गरेको छ । साँच्ची नि मामु, तल्लाघरे माईला काकाको छोरा नि छुट्टीबाट फर्किने होला यता फर्किनलाई पनि फर्म भर्नु पर्छ फर्म भर भन्नु । युएई सरकारले २ लाख प्रवासीहरू फर्काउने तयारी गरिरहेको छ ।यो सब सुनाउदा केहि हद सम्म खुसी मिल्यो होला है मामु तर दुखको कुरा के छ भने नि मामु हाम्रो नेपाल सरकार र राजदुतावाँसले दुखी र पिडित नेपालीहरूको पिडा र तडप देखेन । भोक र बिरामीले थलिएका नेपालीहरूको उद्धार गर्न ढिलाई गर्यो। ढिलै भए पनि उद्धार गर्ने सरकारको निर्णयले हर्षित नेपालीहरू स्तब्ध भए जब सरकारले भाडा दर पाँच सय डल्लर तोक्यो । हजारौ मेसेजहरू र फोन कलहरू आउन थाले अनि दुख पोख्न थाले, हजुरहरूले दिएको रासन खाएर बसेका हामीले कसरी ५०० डल्लर तिरेर जानु ? कोठा बाट निकालीदा हजुरहरूले नै कोठा मिलाईदिनु भएको थियो सर हामी कसरी ५०० डल्लर तिरेर जानु यस्तै यस्तै बिभिन्न प्रश्नहरू आउन थाले हामी संग उत्तर नै थिएन किनकी हामीले प्रत्यक्ष भेटेका थीयौ पिडितहरूलाई, दुख देखेका थियौ र पिडा महसुस गरेका थियौ । ५० डिग्रीको गर्मीमा काम गरेर पठाएको रेमीटयांसले धानेको देश चलाउने नेताहरू जो आलीशान महलमा बस्छन, चिल्ला आलीशान कारमा चिसो एसिको हावा खाएर खोक्रा भाषण गर्ने ति भ्रष्टहरूलाई के थाहा आफ्नो देश फर्किने आशमा मरूभुमीमा तडपीएका नेपालीहरूको पिडा, पिडितहरूको क्रन्दन। वैदेशिक रोजगार विभागमा दर्ता गरि श्रमशुल्क तिरेर आएका नेपालीहरू महिनौ देखी बेरोजगार भएर भोक संग लडदै उद्धारको आशमा बसेका नेपालीहरु प्रति गैर जिम्मेवार बन्नु सरकार र सरोकारवाला हरूको नामर्दीपन होईन त मामु ? एनआरएनए र विभिन्न संघ संस्थाहरूको दवाबमा ३०५ भाडा कम गरी नेपाल फर्काउने तयारी भयो। प्राथमिकताका आधारमा नेपाल फर्काउने तय भए अनुसार गर्भवती महिलाहरू, बिरामीहरू र आफन्त गुमाएकाहरू पहिलो चरणमा जान तयार गरियो सबैले हवाई टिकट लिए एयरपोर्ट जानलाई गाडी रिजर्भ गरे। घर फर्किन पाईने खुसीले मख्ख भएका नेपालीहरू केहि क्षण बित्न नपाउदै उडान रद्द भएको सुचना जारी गर्यो राजदुतावाँसले त्यही सुचनाले चकनाचुर पार्यो घर फर्कने सपना फेरी फोन कल र मेसेजहरूको बर्षात हुन थाल्यो राजदुतावाँसले देखाएको गैरजिम्मेवारिपनले फेरी दुख पाए पिडितहरूले, फोन सम्म उठाउन नसक्ने राजदुताबासका कर्मचारीहरू देखी रुष्ट नेपाली दाजुभाईदिदीबहिनीहरूलाई समझाई बुझाई छीट्टै उड़ान खोल्ने आश्वासन दिएर राख्यो। फेरी उड़ान सुरू हुनेवाला छ आशा गरौ अब चाहि पक्कै घर फर्कने छन ।
सत्र हजार भन्दा ज्यादा नेपालीहरू फर्काउने तयारी भई रहेको छ जस्मा गर्भवती महिलाहरू, बिरामीहरू, नेपालमा आफन्त गुमाएकाहरू, विद्यार्थी,भिजिटमा आएर अलपत्र भएकाहरू, कम्पनी बन्द भएर रोजगार गुमाएकाहरू, बेतलवी बिदामा बसेकाहरू आदि। यत्रो सत्र हजार ज्यादा नेपाल फर्किन लाग्दा पनी हजुरको छोरा फर्किन सकेन, दुख नमान्नु होला। म चाँडै आउनेछु, सधै हजुरहरू संगै बस्न, बर्षौ देखी मिस गरिरहेको हजुरको हातले पकाएको माम खानलाई।
उही
परदेशिएका दुखी नेपालीहरूको सेवामा समर्पित हजुरको छोरा, उज्वल