दमक/ नेपालमा कोरोना भाइरसका कारण उपचाररत दुई जना विरामीको आज मृत्यु भएको छ । जनकपुर नगरपालिका बस्ने कोरोना भाइरस संक्रमित एक पुरुष र त्रिवि शिक्षण अस्पतालको आइसियुमा उपचाररत कोरोना संक्रमित एक चिनियाँ नागरिकको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
साउन २ गते भर्ना अस्पताल भर्ना गरिएका जनकपुरका ती व्यक्तिलाई भेन्टिलेटरमा राखी उपचार गरिएको र उनको साउन ६ गते मृत्यु भएको डा गौतमले बताए ।
यस्तै ४८ वर्षीय चिनियाँ महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालमा कोभिड फोकल पर्सन डा शन्तकुमार दासले जानकारी दिए । डा दासका अनुसार ती महिलामा मुटुको समस्या थियो ।
उनलाई श्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि पोखराबाट सुरुमा ग्रान्डी अस्पतालमा ल्याइएको थियो । ती महिलाको स्वाब परीक्षणका क्रममा मंगलबार कोरोना पोजिटिभ देखिएको हो ।