विराटनगर/ विराटनगरस्थित विराट नर्सिङ होमका नाममा सञ्चालित विराट हस्पिटलमा उपचाररत एक जना कोरोनाका विरामी सम्पर्क बाहिर भएका छन् ।
सो अस्पतालले कोरोनाको शंकास्पद बिरामीको स्वाब संकलन गरी आइसोलेसनमा नराखेको र शंकास्पदको ठेगाना सहितका आवश्यक विवरण राम्रोसँग नराखेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रोटकल अनुसार निजी अस्पतालले कोरोनाको शंका लागेका व्यक्तिलाई अनिवार्य रुपमा आइसोलेसनमा राख्नुपर्ने हुन्छ । त्यसपछि सरकारले तोकेको प्रयोगशालामा सम्पर्क गर्दै स्वाब शंकलन गर्ने लगायतका प्रक्रिया अगाडि बढाउनु पर्नेमा अस्पतालले शंकास्पद व्यक्तिको नाम, फोन नम्बर, ठेगाना लगायतका सबै विवरण संकलन समेत नगरेको पाइएको हो । शंकास्पद व्यक्तिको प्रयोगशाला परीक्षणको रिपोर्ट आएपछि पोजिटिभ भए कोरोना उपचार गर्ने अस्पताल वा सरकारले तोकेको अन्य कुनै कोरोना आइसोलेसन सेन्टरमा पठाउनुपर्ने हुन्छ ।
तर, विराट अस्पतालले १०१ ज्वरो आएका शंकास्पद व्यक्तिको स्वाब शंकलन गरेर घर पठाउँदा समस्या आएको हो ।
अस्पतालले स्वाब संकलन गरेर कोशी अस्पतालस्थित प्रयोगशालामा पठाएको थियो । प्रयोगशाला परीक्षणका क्रममा ती व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ । ती व्यक्तिको ठेगानामा अस्पतालले विराटनगर, मोरङ मात्र उल्लेख गरेको पाइएको छ ।
प्रयोगशालाले बुधबार बिहान १० बजेर ५५ मिनेटमा विराटनगर महानगरपालिकाका कोभिड टिम सुपरभाइजर हैदर अलीलाई महानगरमा तीन जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको थियो । प्रयोगशालाले दिएको जानकारी अनुसार सुपरभाइजर अली र उनको टिमले अन्य दुई जनालाई पत्ता लगाए पनि एक जना भने अझै पत्ता लाग्न सकेका छैनन् । स्वास्थ्य खबरबाट