दमक/ निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता भएको छ । झापाकै सन्ध्या तिवारीको अध्यक्षतामा रहेको कमिटीले आज सो दल दर्ता गराएको हो । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर अहिलेको सत्तारुढ दल नेकपा बनेसँगै नेकपा एमाले अस्तित्वमा थिएन ।
तर नेकपा एमाले नामको दल दर्ता माग गर्दै झापाकी सन्ध्या तिवारी अध्यक्ष रहेको कमिटीले निवेदन दिएकामा आयोगले आवश्यक जाँचबुझ गरेर दर्ता गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
दलको घोषणापत्र, विधान, दल गठनका लागि केन्द्रीय समितिको निर्णय र पाँच सयभन्दा बढी मतदाताको हस्ताक्षर प्रमाणित गरी आयोगको बैठकले एमालेलाई दर्ता गरिदिएको हो । आयोगले उनीहरुको मागअनुसारै उदाउँदो सूर्य चुनाव चिह्न दिएको छ । केही दिनमै दलका प्रतिनिधिलाई बोलाएर प्रमाणपत्र दिने बताइएको छ । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला गत असार दोस्रो हप्ता एकाएक तिवारीको नेतृत्वमा एमाले पार्टी दर्ता गर्न आयोगमा निवेदन पुगेपछि सनसनी मच्चिएको थियो ।
असार १६ गतेको नेकपाको स्थायी कमिटी बैठकमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत नेताले ओलीकै निर्देशनमा एमाले दर्ताको षड्यन्त्र गरिएको भन्दै आपत्ति जनाएका थिए ।
२०७५ साल जेठ २ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो ।