दमक/ दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरबाट अमेरिकामा पुनर्वास भएका एक जना भुटानी शरणार्थी यूवाले आफनो जन्मदिनमा गर्दै आएको परोपकारी कामलाई निरन्तरता दिएका छन । ४ माघमा जन्मदिन मनाउँदै आएका डम्मर विष्टले जन्मदिनको पूर्वसन्ध्यामा शनिबार दमक २ स्थित हाम्रो बाल आश्रमका असहाय बालबालिकाहरुका लागि अति आवश्यक सामग्री प्रदान गरेका हुन । दमकका स्थानीय होटल व्यवसायी काजी राउत र आफना साथी पदम अधिकारी मार्फत नगद ११ हजार रुपैयाँ पठाएर आश्रममा उपयोगी सामान उपलब्ध गराएका हुन ।


उनले आफू भौतिक रुपमा उपस्थित हुन नसकेका कारण  साथीहरु मार्फत ति सामान आश्रममा पुरयाएर हस्तान्तरण गर्न भनेका थिए । विष्टको परोपकारी भावनालाई सम्मान गर्दै राउत र अधिकारीले बाल आश्रमसंग समन्वय गरेर आवश्यकता अनुसारका उपयोगी सामानहरु आश्रमका सञ्चालक मध्येका साजन श्रेष्ठलाई हस्तान्तरण गरेका जनाइएको छ । बालबालिकालाई स्वास्थ्य सरसफाई तथा भान्सामा आवश्यक दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेका हुन ।
हाल अमेरिकाको कालम्बोस ओईओमा कार्यरत विष्टले गत बर्ष पनि जन्म दिनमा दमक ४ स्थित रत्न ज्येष्ठ नागरिक आश्रममा न्यानो कपडा खाद्यन्न तथा फलफूल उपलब्ध गराएका थिए ।
भुटानमा जन्मिएपनि नेपाली माटोमा नै आफू हुर्के बढेकोले नेपालीहरुप्रतिको सदभाव र सहानुभूति राख्ने गरेको विष्ट बताउँछन । उनले आफनो जिवनका महत्वपूर्ण कामहरुको स्मरणका लागि पनि समाजमा योगदान गर्न आवश्यक ठानेको बताए ।

Facebook Comments Box