दमक/ दमकमा किओच वाल अस्पतालले सेवा शुरु गरेसँगै यस क्षेत्रका बालबालिकाहरुले सहुलितय शुल्कमा उपचार सेवा पाउन थालेका छन । अस्पतालले न्यूनतम शुल्कमा बिहान ९ बजेदेखि ५ बजे सम्म बहिरंग सेवा प्रदान गर्दै आएको छ भने इमर्जेन्सी सेवा २४ सै घण्टा प्रदान गरिरहेको छ ।
अस्पतालले एक सय रुपैयाँ शुल्क मात्रै लिएर बाल विशेषज्ञ डाक्टरहरुबाट बहिरंग सेवा उपलब्ध गराउन थालेपछि सर्वसाधारणहरुलाई निक्कै सहज भएको हो ।
करीब दुई महिना अघिदेखि प्रारम्भिक चरणको सेवा शुरु गरेको अस्पतालमा अहिले दैनिक एक सय भन्दा बढी बिरामी बालबालिका आउने गरेका अस्पताल स्रोतले जनाएको छ । १५ बर्ष सम्मका बालबालिकालाई विशेष चिकित्सकहरुको सिफारिसमा आवश्यकता अनुसार वेड भर्ना गरेर पनि उपचार सेवा प्रदान गर्दै आएको यो अस्पतालको इमर्जेन्सी तथा ओपीडिमा चिकित्सकहरुको राउण्ड सेवा शुल्क लिने गरिएको छैन ।
सो अस्पतालमा आफनो छोराको उपचार गराएर सन्तुष्ट दमक ८ का केदारबाबु पौडेलले भने– किओच बाल अस्पतालको सेवामा सर्वसाधारणले वास्तवमै राहत महसुस गर्न पाएका छन । सो अस्पतालमा ५ दिन सम्म बेड भर्ना गरेर उपचार सेवा लिएकी एक महिलाले तीन दिनमा अस्पताल सेवा लिए बापतको शुल्क मुश्किलले २ हजार रुपैयाँ पुगेको सुनाइन । उनले भनिन– प्राइभेट क्लिनिक र अरु हस्पिटलमा जाँदा छिनभरमा ३/४ हजार सकिन्थ्यो तर किओचमा डाक्टरको फि, ब्लड चेकहरु पनि निक्कै कम पैसामा हुँदो रहेछ ।
अस्पतालमा आवश्यकता अनुसार बिरामीको रगत परिक्षण शुल्क समेत अन्य निजी अस्पतालहरुको तुलनामा अत्यन्तै सहुलित दर तोकिएको छ । बेड भर्ना गराएर उपचार गराएका बिरामीको नर्मल बेड शुल्क ३०० रुपैयाँ मात्रै तोकिएको छ । अस्पतालमा बहिरंग, इमर्जेन्सीका अतिरिक्त नर्मल बेड र एचडियु कक्ष पनि सञ्चालनमा रहेको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेडेन्ड समेत रहेका बाल रोग विशेषज्ञ डा. जयमणी श्रेष्ठले हाल दैनिक ३८–४० जना बिरामी बेडमा राखेर उपचार सेवा प्रदान गरिँदै आएको बताए । उनले दुई साता यता बिरामी बालबालिकाको चाप बढदो रहेको बताए । डेंगीका अतिरिक्त अन्य मौसमी फ्लु (भाइरलबाट पीडित बिरामी) बालबालिकाहरु हाल अस्पताल भर्ना भई उपचाररत रहेको उल्लेख गरे । अस्पतालले विपन्न, असहाय तथा बेवारिसे बालबालिकाका लागि समेत छुट्टै बेडको व्यवस्था गरेर पूर्ण निशुल्क उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा दुई/चार दिन भित्रै बालबालिकाहरुको लागि एनआइसीयु कक्ष सञ्चालनमा ल्याउन आवश्यक तयारी भइरहेको डा. श्रेष्ठले जानकारी दिए ।
चिकित्सा क्षेत्रमा राष्ट्रिय अन्तराष्ट्रिय जगतमै नाम कहलाएका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा रहेको काठमाडौं इन्स्टीच्यूट अफ चाइल्ड हेल्थ ( किओच) ले बाल विशिष्टीकृत अस्पताल सञ्चालन गर्ने अवधारणा अनुसार कोशी प्रदेशस्तरीय बाल अस्पतालका रुपमा यो अस्पताल केही समय अघिदेखि दमकमा सञ्चालन गर्दै आएको छ । यस किसिमको सेवाका लागि अस्पताललाई आवश्यक पर्ने सहयोग दाताहरुबाटै जुटाउने यसका परिकल्पनाकार तथा योजनाकारहरुको अभियान छ ।
डा. कोइरालाले कोही पनि गरीब बालबालिकाले पैसाको अभावमा उपचार नपाई ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्ने आफनो लक्ष्य अनुसार सात वटै प्रदेशमा यस किसिमका अस्पताल सञ्चालन गरिने बताउँदै आएका छन ।