दमक/साथीले चलाएको भरुवा बन्दुकको गोली लागेर मोरङको केराबारी गाउँपालिका ३ का ३२ बर्षीय हस्त वहादुर राईको मृत्यु भएको छ ।
शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागेर उनको मृत्यु भएपछि दुई जना पक्राउ परेका छन ।
बाँसघारी खोप सरकारी राष्ट्रिय बन जंगलमा सोही स्थानका ३७ बर्षीय गजेन्द्र राई र २६ बर्षीय रुबिन लिम्बुसंग शिकार खेल्न गएका हस्तबहादुरको बैशाख ९ गते मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा एक थान भरुवा बन्दुक फेला पारेको थियो । प्रहरी टोलीले गजेन्द्र र रुबिनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

अनुसन्धानको क्रममा बैशाख ८ गते रातको ९ बजे गजेन्द्र राईले प्रहार गरेको भरुवा वन्दुकको गोली लागेर हस्त वहादुरको घटनास्थलमा मृत्यु भएको खुलेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । पक्राउ परेकामाथि ज्यान सम्वन्धी कसूर र हातहतियार खरखजाना कसुरमा म्यादथप गरी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।