दमक/नेकपा एमाले सम्बद्ध नेपाल खेलकुद महासंघले कोरोनाको संक्रमणका बाबजुद अग्रभागमा खटिएका सुरक्षाकर्मीका लागि स्वास्थ्य सुरक्षाका सामग्री निशुल्क वितरण गरेको छ । महासंघले मास्क र सेनिटाइजर वितरण शुरु गरेको हो । महासंघको देशव्यापी अभियान अन्तर्गत झापा, इलाम , पाँचथर हुँदै ताप्लेजुङ सम्म यस किसिमको अभियानलाई निरन्तरता दिइने महासंघले जनाएको छ ।


सोमबार ( आज) महासंघले राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटीको व्यवस्थापनमा इलाका प्रहरी कार्यालय झिलझिले र इलाका प्रहरी कार्यालय शिवगञ्जसंगै पूर्वको धार्मिक पर्यटकीयस्थल सताक्षीधाम परिसरमा करिब २ हजार मास्क र २० थान सेनिटाइजर वितरण गरेको हो ।
महासंघका केन्द्रिय सदस्य सुरज रिङगालुङ राई, भिम लिवाङ, अनेरास्ववियुका केन्द्रिय सदस्य सिकिन पास्वान, युवा संघ शिवसताक्षी नगर कमिटी अध्यक्ष भिम बोहोरा लगायत युवा संघ र खेलकुद महासंघका नेता कार्यकर्ताहरु सम्मिलित टोलीले ति स्थानमा पुगेर सामग्री वितरण गरेका हुन ।


इलाका प्रहरी कार्यालय झिलझिलेमा आयोजित सो संक्षिप्त कार्यक्रममा नेकपा एमाले शिवसताक्षी नगर कमिटी अध्यक्ष धनबहादुर थेवेको प्रमुख आतिथ्य र खेलकुद महासंघका केन्द्रिय सदस्य रिङगालुङको अध्यक्षता रहेको थियो । सो अवसरमा इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज प्रहरी निरिक्षक ध्रुवनारायण श्रेष्ठले कोरोना संक्रमण विरुद्ध लडदै जिल्ला प्रशासनद्धारा घोषणा गरिएको निषेधाज्ञा कार्यान्वयनमा युवा तथा खेलाडी वर्गबाट प्राप्त सहयोगले उर्जा मिलेको बताए । मास्क र सेनिटाइजर वितरणमा झिलझिलेका स्थानीय सामाजिक तथा युवा व्यवसायी पर्वत थुलुङ, विशाल खनाल लगायत पनि सहभागी थिए ।


अभियानलाई निरन्तरता 

नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्य राजकुमार थापाले सुरक्षाकर्मीहरुका लागि आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री वितरणलाई अभियानकै रुपमा अघि बढाइने बताएका छन । उनले सुरक्षाकर्मीनै सुरक्षित नभई आम नागरिकलाई सुरक्षित गर्न नसक्ने भएकाले पहिलो प्राथमिकतामा राखेर यस महामारीमा अग्र भागमा खटिएका सुरक्षाकर्मीलाई त्यस किसिमको सहयोग प्रदान गरिएको बताए । युवा संघ नेपाल झापाका संयोजक शम्भु भण्डारीले जिल्लाका मुख्य मुख्य ठाउँहरु र विशेष हाइवेमा खटिएका नेपाल प्रहरी र ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षाका लागि त्यस किसिमको सामग्री वितरण गरिने बताए ।

 

 

Facebook Comments Box