दमक/ महामारीको रुपमा फैलिँदै गएको डेंगी रोगको परिक्षणका लागि कोशी प्रदेशस्थित प्रयोगशालाहरुले लिँदै आएको परिक्षण शुल्कमा एकरुपता कायम गरिएको छ ।
प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले प्रदेशभरका सामुदायिक तथा निजी स्वास्थ्य संस्थाहरुलाई मंगलबार पत्राचार गर्दै डेंगी परिक्षण शुल्क अधिकतम ६०० रुपैयाँ मात्र लिन भनेको छ । कार्यालयले प्रदेश अन्तर्गतका स्वास्थ्य कार्यालयहरु, प्रदेश अस्पताल, निजी अस्पताल, पोलिक्लिनिक , क्लिनिकहरु र निजी प्रयोगशालाहरुलाई डेंगी परिक्षण शुल्क अधिकतम ६०० रुपैयाँ मात्रै तोकेको हो ।
हाल सम्म डेंगी परिक्षणका लागि दमक लगायतका कोशी प्रदेशमा रहेका निजी अस्पतालस्थित प्रयोगशाला, अन्य प्रयोगशालाहरुले १ हजार ५ सय सम्म शुल्क लिँदै आएका थिए । सोसँगै प्रदेश सरकारले डेंगी परिक्षणको तथ्याङक दैनिक रिपोर्टिङ गर्न, सरकारी स्वास्थ्य संस्थाहरुमा निशुल्क परिक्षण व्यवस्था मिलाउन र डेंगी पीसिआर परिक्षण तथा सेरोटाइपिङका लागि प्रदेश जनस्वास्वास्थ्य प्रयोगशालासँग समन्वय गर्न र गुणस्तरीय किटको मात्रै प्रयोग गर्न पनि निर्देशन गरेको छ ।
