दमक/ नुन, तेल, तरकारी, फलफूल जस्ता मानिसका दैनिक उपभोग्य बस्तुहरुको नाप तौल गर्ने उपकरणहरुको जाँच ( परिक्षण) र तिनीहरुको मुल्य सूची समेत सार्वजनिक रुपमा देख्ने गरी राख्नुपर्ने नियम छ ।
नाप तौलका सामग्रीहरुको अवस्था के कस्तो छ भनि उपभोक्ता अधिकारलाई ध्यानमा राखेर परिक्षण गरी योग्य प्रमाणित गर्नुपर्ने व्यवस्था छ ।
समय समयमा यो काम गर्ने गराउने निकायले स्थलगत रुपमै गएर यसको परिक्षण गर्ने गर्छन तर मानव स्वास्थ्यमा अति संवेदनशील मानिने स्वास्थ्य परिक्षण सेवामा भने लापरवाहीपूर्ण व्यवहार हुने गरेको पाइन्छ । औषधी पसलहरुमा सामान्यतया चिकित्सकको प्रेस्किप्सनका आधारमा औषधिको किनबेच हुन्छ ।
कतिपय सामान्य औषधिहरु क्रेताको माग अनुसार प्रेस्किप्सन बिनै पनि बिक्री वितरण गर्ने गरिन्छ ।
तर दमकमा सञ्चालित अधिकांश औषधि पसलहरुमै डाक्टरले बिरामी मात्रै जाँच्दैनन, सम्बन्धित बिषय विज्ञ बिनै इसीजि, इको, भिडियो एक्सरे लगायतको काम पनि गर्ने गर्छन । त्यो पनि ग्राहक (सर्वसाधारण)लाई बिल प्रमाण नदिई ।
यसो गर्नेमा उपभोक्ता अधिकारवादीदेखि स्वास्थ्य निकायका उच्च सरकारी अधिकारीहरु समेत छन ।
स्वास्थ्य मन्त्रालयका सचिव समेत रहेका डा. रोशन पोखरेल, सहिद गंगालाल अस्पतालका निर्देशक समेत रहेका मुटुरोग विशेष डा. चन्द्रमणी अधिकारी समेत छन । डा. पोखरेल र डा.अधिकारी महिनामा एक पटक दमकको दमक फार्मेसीमा आएर एकै दिन ३००÷४०० सम्म विरामी जाँच गर्ने गर्छन ।
उनीहरुले प्रत्येक बिरामीबाट लिने ७०० देखि ८५० रुपैयाँ वापत न सर्वसाधारणलाई बिल समेत दिने गरेको छैन दमक फार्मेसीले । यि बाहेक यहाँका पूर्वाञ्चल फार्मेसी, हिमाल फार्मेसी, ऊँ मेची मेडिको, कुबेर फार्मेसी लगायतमा पनि यहाँस्थित आम्दा अस्पताल, दमक अस्पतालदेखि काठमाडौं, विराटनगरबाट समेत दर्जनौं संख्यामा डाक्टरहरु आएर दैनिक बिरामी जाँच्ने गर्छन ।
ति फार्मेसीहरुकै नाममा डाक्टर भेटने पूर्जा काटने गरिन्छ ।
यही पूर्जामा डाक्टरले विरामीको बारेमा विस्तृत लेखेर सही छाप लगाउने गर्छन । यि डाक्टरले लेखेको विभिन्न जाँच (रगतको माध्यमबाट विभिन्न परिक्षण) गर्ने पोलिक्लिनिक तथा ल्याबहरु समेत जथाभावी अव्यवस्थित रुपमा खोलेका पाइन्छ । यि फरक फरक ल्याबहरुमा गरिएको एउटै नमुना परिक्षणको रिपोर्ट एक अर्कामा मेल खाँदैन ।
यि ल्याबहरु र फार्मेसीमा विभिन्न किसिमका परिक्षणहरुको शुल्क समेत फरक फरक हुने गरेको छ । दमक फार्मेसीले मुटुको भिडियो एक्सरे ( इको) वापत २५०० रुपैयाँ लिने गरेको छ भने आम्दा अस्पतालमा यही सेवा १ हजार ९०० मा उपलब्ध हुने गर्छ ।
औषधी किनबेचको अनुमति लिएर खोलिएका फार्मेसीहरु अघोषित रुपमा अस्पतालकै रुपमा चलिरहेका छन । यि औषधी पसलहरुमा उपलब्ध भएको भनि विज्ञापन गरिएका सेवाहरुको शुल्क दर समेत अचाक्ली धेरै छ । औषधी व्यवस्था विभाग, स्थानीय सरकार र सरोकारवालाहरुले चासो नदिँदा सर्वसाधारणको ढाड सेक्ने गरी चर्को शुल्कसहित सञ्चालन गर्दै आएका यस्ता क्रियाकलाप र यसबाट मानज स्वास्थ्यमा गम्भिर असर परिरहेको छ ।
यस्तै दमकमा सञ्चालित निजी अस्पताल र क्लिनिकहरुले पर्याप्त पार्किङको व्यवस्थापन समेत गरेका छैनन । स्थानीय सरकारले बनाएको एकतर्फी पार्किङको नियमलाई यहाँका औषधी पसलका सञ्चालक र निजी अस्पतालहरुले आफनो प्रभावका आधारमा चुनौती दिइरहेका छन । यहाँका जनप्रतिनिधि, प्रहरी , प्रशासनमा समेत सोझो पहुँच राख्ने औषधि पसलका सञ्चालकहरुका क्रियाकलाप विरुद्ध यहाँका अधिकांश सामाजिक , राजनीतिक अगुवा भनिनेहरु पनि बोल्दैनन । सबैको कुनै न कुनै औषधी पसल होस वा निजी अस्पतालमा आफनै लगानी छ यहाँ कोही बोल्नेवाला छैनन– दमक फार्मेसीमा औषधि खरिद गरेर निस्किँदै गरेकी शान्ता लिम्बुले भनिन ।