झापा/ प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं ५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहसँगै नेपाली कांग्रेसका सम्भावित उम्मेदवारहरुका बारेमा चर्चा चलिरहेको छ ।
कांग्रेसको क्षेत्र, जिल्ला हुँदै प्रदेश सम्म यहाँका सम्भावित उम्मेदवारहरुको नाम सिफारिस भइसके पनि उम्मेदवारको अन्तिम टुंगो लागिसकेको छैन । कांग्रेसको विशेष महाधिवेशन जारी रहेकाले क्षेत्र नं ५ मा मात्रै नभएर देशैभर उम्मेदवारको अन्तिम टुंगो लाग्न बाँकी छ । यसबारेमा विशेष महाधिवेशन टुंग्याएर तत्कालै कांग्रेसले निर्णय लिने जनाएको छ ।
उम्मेदवार सिफारिस भएका मध्ये पहिलो नम्बरमा रहेका कांग्रेसका युवा नेता एवं महासमिति सदस्य अइन्द्रविक्रम केरुङसँग निष्कर्ष न्यूजले गरेको कुराकानीका क्रममा केरुङले भने– ओली वा बालेन सबैलाई चुनाव लडने अधिकार छ । नेपालको राजनीतिक इतिहासमा कांग्रेसको आवश्यकता र महत्व जति छ त्यो बराबर अरुको हुन सक्दैन ।
हामी यतिबेला विशेष महाधिवेशनमा छौं, अहिले कांग्रेस बिरामी अवस्थामा छ यसलाई निको पार्ने थलो विशेष महाधिवेशन हो अब कांग्रेस निको हुँदैछ, उठ्दैछ । कांग्रेसलाई निको पार्ने अनि देशलाई नेतृत्व दिने सवल र सक्षम नेतृत्वसहित चुनावी मैदानमा कांग्रेस आउँदैछ । उनले आफ्नो नाम पार्टीले सिफारिस गरेको सन्दर्भलाई पार्टीले दिएको जिम्मेवारी पुरा गर्नु हाम्रो कर्तव्य हुनेछ । उनले आफ्नो उम्मेदवारी सिफारिस व्यक्तिगत नभएकाले यसबारेमा अहिलेनै व्यक्तिगत धारणा राखि हाल्नु उपयुक्त नहुने प्रतिक्रिया दिए ।