दमक/नेपाली कांग्रेस गौरादहका पूर्व सभापति एवं पूर्व शिक्षक कृष्णहरी थपलियाको निधन भएको छ ।
गौरादह ७ निवासी थपलियाको काठमाडौंमा उपचारका क्रममा सोमबार बेलुकी ७ बजे निधन भएको हो । मेरुदण्डको समस्या लिएर थपलिया दुई साता अघि उपचारका लागि काठमाडौंको हरिसिद्धी अस्पतालमा गएका थिए । उनलाई अन्तिम समयमा कोरोना संक्रमण समेत पुष्टि भएको बताइएको छ ।
शिक्षण क्षेत्रमा करिब ४२ बर्ष लामो समय बिताएका थपलियाले गौरादहको जनता माबिबाट शिक्षण सेवाको शुरुवात गरेका थिए भने पछिल्लो समय अमर मावि बैगुन्धुराबाट अवकाश पाएका थिए ।
त्यसबीचमा थपलियाले कोहोबराको भद्रकाली मावि, जुरोपानीको प्रगति मावि र पृथ्वीनगरको अर्को एक बिद्यालयमा समेत शिक्षण सेवा गरेका गौरादहका पुराना शैक्षिक व्यक्तित्व एवं अमर माविका पूर्व प्रधानाध्यापक सुरेश बहादुर पौडेल बताउँछन । उनको निधनबाट झापा जिल्लाकै शैक्षिक तथा सामाजिक क्षेत्रमा क्षति पुगेको पौडेलले बताए ।
स्व.थपिलयाका श्रीमती, दुई छोरा र तीन छोरी रहेका बताइएको छ । स्व. थपलियका सबै छोराबुहारी र छोरीहरु बेलायत, अमेरिका र अस्ट्रेलियामा रहेका पनि पौडेलले जनाए ।